सुस्मा कार्कीको पश्चताप् ‘खाली बद्नामी मात्रै भयो’

  • News Page
  • Published On: January 22,2015

ग्ल्यामरस छवि बनाएकी अभिनेत्री हुन् सुषमा कार्की । 'उध्रेको चोली....' मा 'आइटम डान्स' गर्नुअघि उनले करिब आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी थिइन् । अधिकांशमा चुलबुले 'लभर गर्ल' को भूमिकामा । तर 'लुट' को त्यही एउटा गीतले पासा पल्टाइदियो । उनी नायिका कम 'आइटम डान्सर' का रूपमा बढी चिनिन् थालिन् । बक्सअफिसमा राम्रो कमाइ गरेको 'लुट' ले उनको खल्ती पनि गरम बनायो । देश-विदेशका कार्यक्रममा निकै व्यस्त भइन् । यस्तै खाले गीतमा लगालग प्रस्ताव आउन थाले । केहीमा अभिनय गरिन् पनि, तर ती आए-गएको पत्तै भएन ।

यतिसम्म ठीकै थियो । यही छेक उनलाई 'बिन्दास' को प्रस्ताव आयो । यौनको विषय उठान गरिएको यो फिल्म सेन्सर बोर्डसँगको लामो खिचातानीपछि 'एडल्ट' सर्टिफिकेटसहित पास भयो । भद्दा संवाद थोपरिएको फिल्मले दर्शक तान्यो । सुषमालाई नै लिएर फेरि यसैको सिक्वेल बन्यो, 'बिन्दास-२' । तर यतिन्जेल आधा दर्जन फिल्मबाट बटुलेको 'लभर गर्ल' छवि क्षत-विक्षत भइसकेको थियो । करिब डेढ वर्ष उनका हातमा एउटै फिल्म परेन । अझ यसको गहिरो पीडा उनले तब महसुस गरिन्, जब सम्झौता भइसकेका केही फिल्मबाट समेत बाहिरिनुपर्‍यो । यस्ता फिल्मप्रति अधिकांश दर्शकश्रोता, साथीभाइ र समाजले हेर्ने नजर सकारात्मक नरहेको उनको बुझाइ रहेछ ।

'नेपाली परिवेशलाई राम्ररी नबुझी यस्ता फिल्म खेल्नु मेरो जीवनकै एउटा ठूलो भूल थियो', हाल हङकङमा रहेकी सुषमा गम्भीर जस्ती देखिइन्, 'यसले मेरो करिअर नै संकटमा पार्‍यो ।'

बलिउडमा विद्या बालनको 'डर्टी पिक्चर' सुपरहिट भयो । त्यसमा पनि त विषयवस्तु यौन नै थियो नि ? यो जिज्ञासामा उनी बोलिन्, 'बलिउडसँग हाम्रो कम्पेयर नै हुन सक्दैन,' फिल्म निर्देशकीय क्षमता र प्रस्तुतिमा पनि भर पर्ने सुनाउँदै उनले थपिन्, 'यहाँ यस्ता फिल्मकर्मीहरूलाई हेर्ने दृष्टिकोण नै फरक देखियो, न इज्जत छ न त पैसा, खाली बदनामी मात्र ।' 'बिन्दास' पछि उनले

'बाउन्सर,' 'सन्जोग,' 'पाप,' 'सकस' जस्ता फिल्ममा अभिनय गरिन् । यीमध्येका केही सार्वजनिक हुन बाँकी छन् ।

हङकङको बसाइ निकै लम्बियो नि, यतै घरजम गर्ने सुरसार त होइन ? प्रश्न फुत्कन नपाउँदै केहीबेर मज्जाले हाँसेपछि उनी बोलिन्, 'होइन, होइन, त्यस्तो विचार छैन,' उनले थप प्रस्ट्याउन चाहिन्, 'यसअघि आउँदा मज्जाले घुम्न पाएकी थिइनँ । योपटक लामै बस्ने योजना बनाएरै आएकी हुँ ।' प्रेमीसँगको बिछोडले विरक्ति बढेको हो कि ? 'छुट्टएिको महिनौं भइसक्यो, मलाई त्यस्तो फिल नै छैन, अब कामलाई प्राथमिकतामा राख्छु,' चियाको चुस्की लिँदै उनले भनिन्, 'अहिले पनि आई लभ यु भन्ने थुप्रै छन् । तर म मतलबै गर्दिनँ, । यो सब क्षणिक रहेछ ।'

आफ्ना फ्यान टिनएजरदेखि पाका उमेरसम्मका भएको सुनाइन् उनले । फेसबुक पेज नै आधा दर्जन छन् । 'एउटा मेरो आफ्नो बाहेक सबै नक्कली हुन्,' उनले थपिन्, 'त्यहाँ पनि हजारौं लाइक्स र कमेन्ट आइरा'को हुन्छ । त्यसलाई पmयानको मायाको रूपमा लिएकी छु ।'

र्‍याम्प मोडलिङ र टेलिभिजन कार्यक्रम प्रस्तोताको अनुभव सँगाल्दै उनी 'मेरो एउटा साथी छ' मार्फत फिल्मको रंगीन संसारमा छिरेकी हुन् । फिल्ममा डेब्यु गर्न सकस झेल्नुपरेन उनले । मामा निर्माता जो थिए । भूमिका छोटो थियो । तर यी सुन्दरी नायिका निर्माता र  निर्देशकका नजरमा राम्रै गढिन् । त्यसपछि लगालग उनले 'गुरुदक्षिणा', 'तिमी मेरो म तिम्रो', 'भीष्मराज', 'ब्याच नम्बर १६', 'के यो माया हो' लगायतका फिल्म गरिन् ।अहिलेसम्म अभिनय गरेका मध्ये पछिल्ला दुई उनलाई सबैभन्दा उत्कृष्ट लाग्छन् रे ।

यो क्षेत्रमा टिकिरहन सम्झौता गर्नुपर्ने सत्य हो ? 'अनेक थरी लोभ देखाउनेहरू हुन्छन् नै, जज आफंै गर्न सक्नुपर्छ,' उनले जोडिन्, 'म अलि हक्की स्वभावकी भएकीले आजसम्म कसैले नराम्रो दृष्टिकोणले प्रपोज गर्ने आँट गरेको छैन ।' फिल्मी क्षेत्रमा समेत 'राम्रालाई भन्दा हाम्रालाई च्याप्ने' फोहोरी राजनीति चल्ने गरेको उनको आरोप थियो । आफ्नै लगानीमा फिल्म बनाउन तयारी गरिरहेको समेत सुनाइन् उनले ।

कुनै बेला उनलाई नायिका होइन, गायिका बन्ने रहर थियो । भोकल तालिम पनि लिइन् । भनिन्, 'फिल्ममा गाउने अफरसमेत आएको थियो, तर गरिनँ ।' केही महिनाभित्रै गीत रेकर्ड गर्ने गरी तयारी भएरहेको बताइन् उनले । 'साथीभाइहरूले पनि निकै हौसला दिइरहेका छन्, कस्तो प्रतिक्रिया आउँदो रहेछ, हेर्नु छ ।'

गसिप बनाउन सिपालु भनिन्छ नि भन्ने प्रश्नमा उनी जवाफिइन्, 'मैले किन बनाउनु ? आफैं बनाइदिँदा रहेछन् । मेरो बिहे नै भयो भनेर त छापिदिए । मैले अहिलेसम्म मिडियालाई कुनै कुरा ठगेको छैन ।'

समय घर्किसकेको थियो । सोधियो, राजनीतिमा कत्तिको रुचि छ ? 'किन नहुनु ? पत्रपत्रिकामा मनोरञ्जन, खेलकुदपछि हेरिने राजनीतिक समाचार नै हुन् ।'

संविधान निर्माणबारेको सोधाइमा उनको भन्नु थियो, 'संविधान त बन्याबन्यै भयो ।'  यसो भने पनि नेपालले छिट्टै काँचुली फेर्ने विश्वास छ यिनलाई । बाबुराम भट्टराई, मिनेन्द्र रिजाल र गगन थापा सुषमालाई मन पर्ने नेता रहेछन् ।

यसै साता हङकङबाटै चीनको राजधानी बेइजिङ र गोन्झाउ घुमेर फर्केकी हुन् यिनी । 'सानैदेखि चन्द्रमाबाट ग्रेटवाल देखिन्छ भन्ने सुनेकी थिएँ, यसैले त्यहाँसम्म पुग्ने एकदमै रहर थियो,' लजाएझैं गरी उनले सुनाइन्, 'ग्रेटवालमा ताल्चा पनि झुन्ड्याएँ । पार्टनरको नाम लेख्नुपर्छ भन्थे । त्यसो गरे मागेको पुग्छ रे (उनी फिस्स हाँसिन्) । आफ्नो त भए पो लेख्नु ।'

साभार : ईकान्तिपुर डटकम


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be