नेपाली बिद्यार्थीमाझ दिल्लीमा ‘टुल्के’
- News Page
- Published On: January 04,2015
नेपाली फिल्मी बजारमा वाहवाही कमाउन सफल पछिल्लो फिल्म ‘टलकजंग भर्सेज टुल्के’ का निर्माता रवीन्द्रसिंह बानियाँ शनिबार मण्डी हाउस नजिकै बंगाली स्विट हाउसमा भेटिए । भारतीय फिल्मी उद्योग र यताको रसरंगका माझ नेपाली फिल्मकर्मी स्वभावतः ‘फिक्का’ देखिने गरेका छन्, यो होडमा आवतजावत गर्न पनि नेपाल फिल्मकर्मीले आँट गरिरहेका हुन्नन् । यही बेला नेपाली दर्शक खोज्दै र नेपालीपनको कुरा गर्दै दिल्ली आइपुगेका निर्माता बानियाँले चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न आएका विद्यार्थीको अनुरोधमा ‘टलकजंग भर्सेज टुल्के’ फिल्म देखाउन सदासयता देखाए ।
नयाँ वर्ष (२०१५) को अवसरमा गत बिहीबार साँझ आईटीओनजिक हिन्दी भवनमा ‘टलकजंग भर्सेज टुल्के’ हेर्न थुप्रिएका २ सयभन्दा बढी विद्यार्थीमाझ निर्माता बानियाँले भने ‘यहाँ पैसा कमाउन अथवा नेपाली फिल्मको बजार खोज्न म आएको होइन, बरु नेपाली दर्शक खोज्दै आएको छु । सीए पढ्ने विद्यार्थीहरूले फिल्म हेर्ने इच्छा राखेकाले एक पैसा पनि शुल्क नलिई टलकजंग भर्सेज टुल्केु लिएर आएको हुँ । माओवादी द्वन्द्वको उत्कर्षसँगै समाजमा देखिएको बेथिति र राजनीति असम्बद्ध नागरिकले समेत बेहोरेको अनाहकको सास्तीलाई धेरै नेपालीले भुलिजाने स्थिति छैन । त्यही पृष्ठभूमिको कथामा एउटा पात्रले निभाएको रसरंगी भूमिका हेरिन्जेल रमाइलो मात्रै छैन, निकै अर्थपूर्ण पनि लाग्छ । यो टुल्के पात्र म आफैं हो कि झैं जस्तो लाग्यो’ भारत प्रवासमा दुई दशकयता रोजीरोटी गर्दै आएका सामाजिक कार्यकर्ता प्रमोद खरेलले भने, ‘म पनि आफ्नै नाम कामको अन्योलपूर्ण पहिचान लिएर हिँंडिरहेको छु, मलाई पनि आफ्नो पहिचानमा भ्रम छ, प्रभाव र पहुँचमा नचाहिँदो भ्रम छ ।’
सीए अध्यनरत विद्यार्थी प्रवेश आचार्यले भने नेपाली फिल्म विगतमा के र कस्ता बनेका थिए भन्नुभन्दा पनि ‘टलकजंग भर्सेज टुल्के’ जस्ता यथार्थले भरिएका फिल्म कति बनेका होलान् भन्ने जिज्ञासा आफूमा उब्जिएको प्रतिक्रिया दिए । ‘यस्ता नेपाली फिल्म बनिने क्रम जारी रहने हो भने निर्माता र निर्देशकले बजार खोज्दै हिँड्नु पर्दैन, दर्शक स्वयम् फिल्म खोज्दै हलमा आइपुग्नेछन्’ आचार्यले भने । सीए पढ्ने विद्यार्थी समाजका प्रतिनिधि सुधन महत र विशाल भट्टराईले नेपाली समाज तथा वस्तुस्थितिसँग जोडिएको फिल्म हेर्ने इच्छा सदैव रहेको भए पनि प्रवासमा पहिलोपटक यस्तो अवसर मिलेको प्रतिक्रिया दिए । सीए अध्यनरतको हातेमालो नेपाली विद्यार्थी समूह, जुनकिरी फायर फ्लाइज एसोसिएसन अफ नेपाल, नेपाली स्टुडेन्टस हेल्पिङ हेन्डस् र नेपाल विद्यार्थी संघ (सीए) ले ‘टलकजंग भर्सेज टुल्के’ विद्यार्थीमाझ देखाउन तत्परता देखाएका थिए ।
यसअघि ‘लुट’ फिल्म निर्देशनबाट नामकाम बनाइसकेका निश्चल बस्नेतको दोस्रो निर्देशनमा आएको ‘टलकजंग भर्सेज टुल्के’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेको खारिएको अभिनय देख्न सकिन्छ । उनीहरूको अभिनय बढी स्वाभाविक किन पनि छ भने उनीहरू रंगमञ्चको पृष्ठभूमिबाट आएका हुन् । नायिका ऋचा शर्मा पनि नेपाली फिल्मी ट्रेन्डमा देखिने ‘बनावटी नायिका’ भन्दा फरक लाग्छिन्, स्वाभाविक र जीवन्त । निर्माता बानियाँ भने भारतमा रहेका नेपालीभाषी दर्शकको माझमा नियमित रूपमा नेपाली फिल्म देखाउन र प्रबर्द्धन गर्न सकिन्छ कि भनेर उपाय पहिल्याउनमा पनि व्यस्त छन् । ‘हामी युवा समूहले स्थापना गरेको पपकर्न पिक्चर्समार्फत भारतीय बजारमा नेपाली फिल्म वितरण र प्रवर्द्धन गर्न सकिन्छ भनेर पहल सुरु भएको छ’ बानियाँले भने, ‘नेपालीभाषी दर्शक रहेका दार्जिलिङ, सिक्किम, असाम, मेघालय लगायतका क्षेत्रमा महिनाको एकपटक भए पनि एउटा नेपाली फिल्म देखाउन सकिएमा हामीले हाम्रा दर्शकको पहुँच विस्तार गरेको ठहर्नेछ ।’
उनका अनुसार पपकर्न पिक्चर्सले काठमाडौं उपत्यकामा मात्रै केन्द्रित समूहले अहिलेसम्म ‘झोले’ देखि ‘टलकजंग भर्सेज टुल्के’ सम्म गरेर ७ वटा नेपाली फिल्मको वितरण र प्रवर्द्धन गरिसकेको छ । ‘तर लगानी उठाउने र सही अर्थमा प्रवर्द्धन हुन सकेका फिल्म ‘लुट’,‘ुकबड्डी’ तथा ‘टलकजंग भर्सेज टुल्के’ मात्रै हुन सकेका छन्’ बानियाँले भने, ‘हामी कसैले पनि फिल्म प्रचार र प्रवर्द्धन वा वितरण गरेर पैसा कमाउन खोजेका होइनौं, नयाँ दृष्टि र हेराइमा बनेका नेपाली फिल्महरू जतिसक्दो धेरै नेपाली भाषी दर्शकमाझ पुग्न सकोस् भन्ने ध्याउन्न मात्रै हामीसँग छ ।’
उनका अनुसार ‘टलकजंग भर्सेज टुल्के’ ले भने आफ्नो ९० लाख रुपैयाँको लगानी उठाइसकेको छ । अमेरिका, युरोप, अस्ट्रेलिया, कोरिया लगायतका मुलुकमा रहेका नेपाली दर्शकमाझबाट ६० लाख रुपैयाँ उठाएको र बाँकी नेपाल भित्रबाट फिल्मी बजारबाट अरू पैसा उठेको उनले जानकारी दिए । ‘अब अर्को चरणमा ‘पशुपति प्रसाद’ भन्ने फिल्म बनाउने भएका छौं, फागुनदेखि सुटिङ थाल्ने योजना छ’ उनले भने । खगेन्द्र लामिछानेको कथा रहने ‘पशुपति प्रसाद’ लाई दीपेन्द्र के.खनालले निर्देशन गर्नेछन् । यसअघि डिसेम्बर तेस्रो सातामा दिल्लीमा सम्पन्न इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत ‘टलकजंग भर्सेज टुल्के’ र ‘झोला’ फिल्म प्रदर्शनमा आए पनि त्यहाँ नेपाली दर्शकको उल्लेख्य सहभागिता थिएन ।
साभार : ईकान्तिपुर डटकम
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved