‘टप्परटुइँयाहरुलाई मेरो भन्नु केही पनि छैन’ : प्रदीप भारद्वाज

  • News Page
  • Published On: February 07,2016

स्क्रिप्ट राइटर प्रदिप भारद्वाजले निर्माण गरेको फिल्म ‘चलेछ बतास सुस्तरी’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । उनको सँगै अन्य दुई फिल्महरु ‘प्रेम गीत’ र ‘क्लासिक’ पनि प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछन् । यी तीन फिल्मको प्रदर्शन प्रतिस्पर्धालाई लिएर फिल्मी बजारमा व्यापक चर्चा चलिरहेको छ । यसै सेरोफेरोमा रहेर उत्सव रसाईलीले स्क्रिप्ट राईटर तथा निर्माता प्रदीप भारद्वाजसँग कुराकानी गरेका छन् ।


१.तीन फिल्मको प्रतिस्पर्धामा आफुलाई कत्तिको बलियो रुपमा प्रस्तुत गर्नु भएको छ ?

युद्धमा होमिएको योद्धाले आफुलाई कमजोर ठान्दैन । नराम्रै फिल्म बनाउनेहरुले त आशा गरि राखेको हुन्छन् भनेपछि मेरो इतिहास हेर्ने हो भने म त्यति नराम्रो फिल्म बनाउनेमा पर्दिनं । सफलताको आशा गर्नु म त्यति अनुचित ठान्दिंन । राम्रै होला भन्ने आशा लिएको छु । म कमजोर छैन । 

२.बजारमा त तपाईंलाई तीन मध्ये कमजोर प्रतिस्पर्धीको रुपमा हेरिएको छ नि ? 

त्यो किन ठानियो मलाई थाहा छैन । कमसेकम फिल्म हेरेर यस्तो ठानिदिएको भए हुन्थ्यो । पब्लिसीटिको आधारले बलियो र कमजोर ठान्ने हो भने हावा भरिएको बेलुनलाई ठुलो भनिए जस्तै हो । एउटा सानो पिनले पनि घोचेर फुट्छ । फिल्म हेरेपछि भन्ने कुराहरु थिए, फिल्म नहेरेरै यसो भन्ने टप्परटुइँयाहरुलाई मेरो भन्नु केही पनि छैन । अब विद्वानहरुले नै पब्लिसीटिको आधारमा विश्लेषण गर्नु भएको हो भने त्यो एउटा मुर्खयाँइ हो ।

३.प्रतिस्पर्धालाई व्यवस्थापन पनि गर्न सकिन्थ्यो होला नि हैन ?

निर्माता भएको हिसाबले मिलाउन सकिन्थ्यो । मिलाउन खोजेको हो मिलेन । 

४.सुदर्शन थापा र दिनेश राउत तपाईंकै मित्र हुन् क्यारे ! मित्रहरुसँग किन जुध्न आउनु भयो ?  

दुईटा मित्रहरुको फिल्म लाग्दैछ, अर्को मित्रको फिल्म थपिएको छ । जोसँग पनि जुध्नै पथ्र्यो । यो चोटी मित्रहरुसँग जुध्नु पर्यो । जुध्नु भन्दा पनि एकै मितिमा हाम्रो फिल्म लाग्दैछ ।

५.यो प्रतिस्पर्धालाई ‘ईगो’ को लडाईंको रुपमा लिइएको छ नि ? 

तपाईंले जो जो मित्रहरुको नाम लिनु भयो । त्यो फिल्ममा उहाँहरुको पैसा परेको छैन । यसमा त मेरो पैसा परेको छ नि । मैंले धेरै सोच्नु पर्ने थियो र मैंले धेरै सोचेर नै त्यो मितिमा फिल्म हालेको हुँ ।

६.यसो हो भने विजयी र पराजयीले तपाईंलाई खास अर्थ राख्ने भयो ? 

यही भएर पनि मैंले यो मिति रोजेको हो । मैंले धेरै नै गणितिय हिसाब गरेर यो मितिमा फिल्म चलाउने निर्णय गरेको हुँ । एउटा लभ स्टोरी फिल्मको लागि एउटा राम्रो मिति ‘भ्योलेनटाइन्स डे’ हो । केही राम्रो होला भन्ने हिसाबले हालिएको हो । अरुको कमजोरी र बलियो पक्ष केलाएर हालेको चाहिं होइन । 

७.तपाईंको फिल्ममा त ‘स्टार कास्ट’ छैनन् ! 

म छु नि त स्टार । म भन्नुको मतलब स्क्रिप्ट छ हाम्रो स्टार । विषयवस्तु बलियो छ । स्टार भएका फिल्महरु पनि असफल भएका हामीले देखेका छौं । स्टार बोकेर फिल्म बनाउनेमा म पर्दिनं । म आफुमा विश्वास गर्ने मान्छु हु । मलाई आफ्नो उत्पादनमा विश्वास छ । मैंले एउटा राम्रो फिल्म बनाएको छु । मेरो फिल्मको कथामा को मिल्छ मैंले त्यो लिने हो । त्यो होइन कि चलेको स्टारको लागि फिल्म बनाएर आफ्नो स्क्रिप्टलाई बिगार्नु पर्छ या जर्बजस्ती मिलाउनु पर्छ । को ‘कास्ट’ गर्दा सही हुन्छ विचार गरेर हामीले छनोट गरेका छौं । मेरो लागि यो कास्टिङ नै ‘म्याच’ भयो मैंले यो नै गरें । 

८.उसो भए भाई (प्रमोद) को लागि फिल्म बनाइदिनु भयो ? 

प्रमोद एकदमै राम्रो एक्टर हो । पछि फिल्म हेर्दा पनि थाहा हुन्छ । अघिल्लो फिल्ममा पनि ठुला ठुला राष्ट्रिय दैनिकका आधा पेज प्रमोदको अभियनको तारिफमा भरिएका थिए । उ नाटकबाट आएको मान्छे हो । एउटा एक्टर पछि नपरोस् भनेर पनि सहयोग चाहिं गरेको हो । 

९.नायिकामा सुस्मा कार्की ‘मिस कास्ट’ भयो भन्ने पनि भनिन्छ नि ।

सुस्माको विकल्पमा मैंले कोही देखिन । रेखा (रेखा थापा) प्रमोदसँग ‘म्याच’ हुन्नथिन । रेखाको पछि मैंले देखेको भन्या सुस्मा नै हो । उसको ठाउँमा मैंले अरु देखिन । डराउने मान्छेहरुले के के भन्छन् होला । मलाई सुस्माले असाध्यै राम्रो काम दिएको छ । कमसेकम फिल्म हेरेर भन्नु पर्ने कुराहरु थिए नहेरिकन भन्नु भनेको चाहिं पागलपन हो । पागलहरुले के भन्छन्, त्यो विषयमा बहस गर्नु त्यति जरुरी पनि छैन ।

०.सुस्माको निकै नै तारिफ गर्नु भयो नि ?

किनभने उसलाई मैंले बच्चादेखि चिनेको छु । मैंले उसँग भएको प्रतिभालाई लिएको हो । सुस्मा कार्कीको अभिनयको क्षमता के हो यो फिल्मले देखाएको छ । ऊ एउटा सानो आइटममा साँघुरेर बस्नु हुँदैन भन्ने मेरो चाहना हो । मैंले सुस्मासँग यो क्षमता पनि छ है, भनेर निकाल्न खोजेको हुँ । हिजोको दिनमा विकास चौधरी संगीतकार लिंदा यस्तो केटा किन लिएको ? एक सय एक संगीतकार पाउँनुहुन्छ भनेका थिए । आज उ मेरो फिल्मबाट ‘ब्रान्ड’ बन्यो । झरनामा माथिबाट पानी नै झरेको छ, तपाईंले के थाप्नु हुन्छ भन्ने हो । कचौरा थाप्नेको कचौरा भरिन्छ बाल्टी थाप्नेको बाल्टी भरिन्छ । आफुसँग कुन भाँडो छ त्यसमा भर पर्छ ।

११.फिल्मको कथावस्तु चाहिं के छ ?

तपाईंले बाटामा हिंडेका सय जना केटा या केटीहरुलाई तेरो लभ स्टोरी के भनेर सोध्नु भयो भने मेरो लभ स्टोरी ‘चलेछ बतास सुस्तरी’ को हो भनेर भन्नेछन् । त्यो मध्येपनि साँचो माया गर्नेहरुको कथा हाम्रो फिल्ममा छ । यो नयाँ स्टोरी होइन । यसलाई मान्छेहरुले याद गरेका थिएनन्, मैंले तिमीहरुको लभ स्टोरी यो हो भनेर देखाइदिएको मात्रै हो ।

१२.यसको लागि पनि हलमा दर्शक त आउनु पर्यो नि ? 

त्यो डेटको लागि एउटा माहोल बनेको छ । चार वटा कपडा पसल भाको ठाउँमा पाँच वटा बन्छ । त्यो पनि स्वतः बजार बन्छ । लगेर छुट्टै राख्दा चल्ने नचल्ने सम्भावना हुँदैन । मैंले आफ्नो तरिकाले मार्केटिङ गरेको छु । लगभग एक करोडको पब्लिसीटि भएको मितिमा दर्शकहरु पक्कै पनि आउनु हुन्छ होला । अब दर्शकको मुड नै भएन भने कसैको केही लाग्दैन । यदि दर्शक आउनु भयो भने हाम्रो पनि फिल्म त्यहाँ छ । मैंले पनि दर्शकलाई मेरो फिल्मको बारेमा जानकारी दिएको छु । फिल्म हेरेपछि उहाँहरुले के भन्नुहुन्छ ? मेरो फिल्म भनेको ‘वर्ड अफ माउथ पब्लिसीटि’ मा भर पर्ने फिल्म हो । मैंले यसको लागि ठुलो धनराशी खर्च गरेको छैन । किनभने पचास लाख प्रचार प्रसारमा खर्च गर्यो भने त्यो उठाउन मात्रै दुई करोडको व्यापार गर्नुपर्छ । अरुको पब्लिसीटिको खर्च खठ्दा म सुरक्षित हुन्छु ।

१३.फिल्मको निर्देशन चाहिं किन आफैले गर्नु भएन ?

निर्माता र निर्देशन एकै जना बन्दा ठुलो अभिभारा बोक्नु पर्ने भयो । निर्माताको रुपमा आफ्नो पहिलो फिल्म भएको हुदा सजिलोको लागि निर्देशक आर्कैलाई लिदा राम्रो हुन्छ जस्तो लाग्यो ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be