‘नयाँ शक्ति प्रवेशले ‘फागु’ लाई असर गर्दैन’ : करिश्मा मानन्धर
- News Page
- Published On: February 04,2016
डा.बाबुराम भट्टराईले खोलेको नयाँ पार्टी नयाँ शक्ति प्रवेशका कारण चर्चामा रहेकी अभिनेत्री करिश्म मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’ आउँदो फागुन ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘बाबु साहेव’ पछि फिल्म निर्माणमा फर्किएकी करिश्मा यतिबेला आफ्नो पछिल्लो फिल्मको प्रचार प्रसारमा व्यस्त छिन् । उनै अभिनेत्री, निर्माता तथा नयाँ शक्तिकी सदस्य करिश्मा मानन्धरसँग उत्सव रसाईलीले कुराकानी गरेका छन् ।
तपाईंको फिल्म ‘फागु’ रिलिजको क्रममा छ, नयाँ शक्ति प्रवेशले दर्शक भड्केलान् जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । कला भनेको सर्वव्यापी चिज हो । भारतसँग रुष्ट थियौं तर हामीले हिन्दी फिल्म हेर्न छोडेका त थिएनौं । किनभने हामी फिल्मलाई माया गर्छौ । म यो राम्रोको लागि गर्दैछु । राम्रोको लागि गर्दैछु भनेपछि फिल्मलाई यसले असर गर्छ जस्तो लाग्दैन । राजनीति र फिल्म अलग क्षेत्र हुन् । राजनीतिक पार्टीप्रति वितृष्णा जागेर केही व्यक्तिहरुले नराम्रो भन्नु भयो होला । ‘विचरा करिश्मा किन गएको होला’ भन्नु भयो होला ।म ‘विचरा’ होइन ।
फिल्ममा दर्शकको ध्यान तान्न चाहिं कत्तिको पापड बेलिरहनु भएको छ ?
म अरुको जति त्यति पापड बेलिरहेको छैन । तर पापड जति बेलेतापनि दिने भनेको जानकारी नै हो । मलाई लाग्छ, हामीले पुग्ने जानकारी चाहिं दिइसकेका छौं । रिलज हुनु भन्दा एक हप्ता अगाडी चाहिं अझै व्यापक हुन्छ किनभने यसले दिमागमा अझ रुपमा राख्छ ।
लामो समयपछि निर्मातको रुपमा फर्कन भयो तर सहकार्यमा । किन एक्लै फिल्म निर्माण गर्ने आँट नभएर हो ?
आँट नभएको होइन । म योजनामै थिएँ । हाम्रो यहाँ मात्रै होइन, विदेशमा पनि सहकार्यमै काम भैरहेको हुन्छ । जसले गर्दा जोखिम कम हुन्छ । सबैको सल्लाह सुझाव आउँछ जसले गर्दा राम्रो पनि हुन्छ । अब आउने प्रोजेक्ट चाहिं म सोलो रुपमा गर्छु ।
तर तपाईं सोलो भएको भए अझ धेरै महत्व हुन्थ्यो होला नि ?
आफुले गरेका साना चिजको पनि महत्व राख्न जान्नुपर्छ । यो प्रोजेक्ट बिचमा नघुसेको भए म त्यो गर्ने योजनामै थिएँ । तर म सम्झनाप्रति कृतज्ञ छु किनकी उसले एउटा सुतिरहको बाघलाई उठाए जस्तो भएको छ ।
भनेपछि ‘फागु’ चाहिं तपाईको परिक्षण फिल्म हो ?
त्यस्तो पनि होइन । एउटा फिल्म बनाउँ भने सकिन्छ । तर, यसरी गर्दा ठिक हुन्छ जस्तो लाग्यो । परिक्षण गरेर या डराएर ‘फागु’ बनाएको होइन ।
भोलि ‘फागु’ असफल भएको खण्डमा त्यसले तपाईंको अर्को प्रोजेक्टलाई कुनै असर पार्छ ?
मलाई कुनै पनि खालको असर पर्दैन । किनभने मैंले नयाँ फिल्मको योजना बनाइरहेको छु, जसमा म निर्देशकको रुपमा पनि रहनेछु । ‘फागु’ जे भएतापनि फागु पूर्णिमा सबैलाई स्वागत छ । फागु पूर्णिमा मनाउन नै रोकिदैन भनेपछि अर्को प्रोजेक्ट त कसरी रोकिन्छ ?
‘फागु’ चाहिं कस्तो बनेको छ त ?
एकदमै फरक छ भनेर त म भन्दिंन । तर म के भन्छु भने फिल्म निकै नै रंगिन बनेको छ । फिल्मप्रति म एकदमै आशावादी छु । सम्भवतः शिल्पा (नायिका शिल्पा पोखरेल) को यो ह्याट्रिक हुनेछ । नयाँ नायक सुवासले पनि राम्रो गर्नु भएको छ ।
तपाईं राजनीतिक रुपमा पनि संलग्न भैसक्नु भएको छ । फिल्म निर्माण एवं निर्देशन र राजनीतिलाई कसरी तालमेल मिलाएर अगाडी बढ्नु हुन्छ ?
हामी नयाँ शक्ति निर्माणको क्रममा छौं । राजनीति मेरो ‘प्यासन’ हो । यसमा म रमाउँछु । त्यसैले म दुवैलाई मिलाएर अगाडी बढ्छु ।
नयाँ शक्ति प्रवेशलाई लिएर बढी नै टिकाटिप्पणी भैरहेको छ नि ।
कुनै पनि राम्रो ठाउँमा पुग्नको निम्ति सजिलो कहिले पनि हुँदैन । अप्ठ्यारोहरु धेरै आइपर्छन् र त्यसले मलाई विचलित बनाएको छैन । किनकी म आफु के गरिरहेको छु, त्योप्रति म ‘क्लियर’ छु । तर आलोचनालाई पनि सल्लाहकै रुपमा लिइरहेको छु । राजनीति भनेको यस्तो एउटा क्षेत्र हो जहाँ धेरै नै आलोचना हुन्छ किनभने त्यहाँ पक्ष र विपक्षहरु धेरै नै हुन्छन् ।
तपाईं वहकाउमा नयाँ शक्ति प्रवेश गर्नु भयो भन्ने पनि सुनिन्छ । के यो सत्य हो ?
मेरो गड मदरले त मेरो फोटो आएपछि मात्रै थाहा पाउनु भएको थियो । यसको लागि मैंले विनोद जीलाई पनि सोधेको थिइँन । मैंले नितान्त आफैंले सोचेर यो गरेको हुँ । कसैले बल गरेर कुनै चिज पनि हुँदैन । म चाहदिन कि मेरो विचारमा अरु कसैको अवरोध ल्याओस् । हुन त मैंले एक वर्षदेखि नै राजनीतिमा जाने बारे सोचिरहेको थिएँ । म राम्रो समुहको पर्खाइमा थिएँ । मैंले यो अवसर पाएँ, म आफुलाई भाग्यमानी ठान्छु । किनभने म राम्रो व्यक्तिहरुको समुहमा सामेल भएको छु ।
नयाँ शक्तिको के कुरा चाहिं चित्त बुझ्यो ?
हाम्रो राजनीतिक कालखण्ड हेर्ने हो भने राजतन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो । तर सत्तामा कोही पनि राम्रोसँग टिक्न नपाउने र काम गर्नै नपाउने । हरेक राजनीतिक पार्टी आउने जाने मात्रै भैरह्यो । संविधान समयमा बन्न सकेन । युवाहरु विदेशिएका छन् । नेपाल एकदम पछि परेको छ । अर्थतन्त्र खस्किदैं गएको छ । त्यसैले विकास आवश्यक छ भन्ने सोच उहाँको सोच छ, मलाई यो मन पर्यो । आउने पुस्तालाई केही दिएर जाउँ भन्ने सोचले पनि म गएको हुँ ताकि हाम्रो युवाहरु पलायन हुन नपरोस् ।
केहीले नयाँ शक्तिलाई पुरानाहरुको संगठन पनि भनिरहेका छन् नि ।
कुनै पनि एउटा क्षेत्रमा लागेर उत्कृष्टता हासिल गरिसकेका व्यत्तिहरुको जमात हो नयाँ शक्ति । एउटा मान्छे सय चोटी जन्मदैंन । म त नयाँ शक्ति नयाँ सोचको शक्ति पनि भन्छु । शक्ति भनेको सोचमा हुन्छ । जे चिज पनि कामले देखाउने हो । अरुले भनेको कुरालाई मैंले त्यति गम्भिर भएर लिएको छैन ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved