हिम्मतवाला सुदर्शन भन्छन्, ‘अबको यात्रा चन्द्रमाको’

  • News Page
  • Published On: September 18,2014

बानेश्वरको थापा गाउँमा चङ्गा उडाउँदै गर्दा १३ वर्षिय सुदर्शन गौतमको करेन्ट लागेर वि.स २०५१ सालमा गम्भिर दुर्घटना भयो । उक्त दुर्घटनाबाट सुदर्शनको दुवै गुम्यो । तर, सोही दुर्घटनापछि सुदर्शनका लागि विभिन्न अवसरका ढोकाहरु खुल्न आए । खुट्टाले लेखेर प्रवेशिका परिक्षा उत्तिर्ण गरेपछि चम्किएका सुदर्शनको चर्चा आज नेपालमा मात्रै सिमित छैन । 

हिम्मतवाला सुदर्शनको चर्चा विश्वका विभिन्न मुलुकमा हुने गरेको छ । अभिनेत्री रेखा थापासँग जोडिएर फिल्म ‘हिम्मतवाली’ मा अभिनय गरेपछि सुदर्शन रंगीन मिडियामा समेत चम्किएका छन् । असोज १५ गते फूलपाती प्रदर्शनको फिल्म ‘हिम्मतवाली’ का मुख्य पात्र सुदर्शन गौतमसँग न्यूजपेजथ्रीडटकमका उत्सव रसाइलीले कुराकानी गरेका छन् ।   

अस्पतालको वेडमा दुवै हात काट्नु पर्छ भन्ने थाहा पाउँदा के सोच्नु थियो ? 

तीन चार दिनदेखि बेहोसमा रहेछु । होसमा आउँदा आमा बुवा मेरो छेउमा बसेर रोइ रहनु भएको रहेछ । के भएछ भनेर सोचें अनि आमा बुवालाई सोधें । दुवै हात काट्नु पर्छ भन्ने कुरा सुन्दा त म ‘सक्ड’ भएँ । ९ कक्षामा पढ्ने १३ वर्षे केटाको दुवै हात काट्नु पर्छ भन्ने सुन्दा त संसार नै अध्याँरो जस्तो भयो । अब गर्ने होला ? स्कूलमा कसरी जाने ? साथीहरुलाई के भन्ने ? गाउँमा कसरी पुर्नस्थापना हुने भन्ने चिन्ता त मनमा आयो । मम्मी बुवा रुँदा साहै्र चित्त दुख्थ्यो । परिवारको लागि बोझ हुन्छु कि भन्ने लाग्यो । एकजना आन्टीले मम्मी बुवालाई ‘चिन्ता नगर्नुस् छोरालाई हामी पनि पालिहाल्छौं नि एक एक हप्ता’ भनेर भन्नु भएछ । आमा बुवाले ‘मेरो छोरालाई तिम्ले पाल्नु पर्दैन हामी आफै पाल्छौं’ भनी जवाफ दिनु भएछ । त्यो जवाफले नै मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो । मैंले घरबाटै शक्ति पाएँ ।

घर, परिवार, साथीभाइ र समुदायले तपाइँलाई गर्ने व्यावहार कस्तो पाउनु भयो ?

म एकदमै रमाइलो गर्ने मान्छु हुँ । कसले के भन्यो मलाई मतलब छैन । हात हुँदा र नहुँदा गाउँ घरमा खासै भिन्नता पाइँन । समाजमा हेपिन्छ भनेर मान्छेले भन्थें । हेपिने नहेपिने आफुमा भर पर्ने रहे। म जे गर्छु गर्वका साथ गर्छु । मेरो दुवै हात छैन भनेर कहिल्यै पनि घरमा लुकेर बसिनं । जहाँ गएर जोसँग पनि घुलमिल भएँ । म जहिल्यै पनि अवसरको खोजीमा भएँ । म आज पनि अवसरको खोजिमा छु । एकजना महात्मा गान्धीले सिङ्गो भारत परिवर्तन गरे । विपी कोइराला लगायतका नेताहरुले नेपाल परिवर्तन गरे, मेरो एक्लो जिन्दगी त म जसरी पनि परिवर्तन गर्न सक्छु नि ।

खुट्टाले अक्षर लेख्न चाहिं तपाइ कसरी सफल हुनु भयो ?

एक साता जति मुखले लेखें । एक्कासी एक दिन गोडाले लेख्नु पर्छ भन्ने सोच आयो । कखरा र एबीसिडी नै नजानेको भए चाहिं खुट्टाले लेख्न गाह्रो हुन्थ्यो होला । म कक्षा ९ को विद्यार्थी थिएँ । त्यसैले त्यती गाह्रो भएन । दिउँसो मान्छेको अगाडी लाज लाग्थ्यो । राती सबै सुतेपछि अस्पतालको वेड मा नै खुट्टाले लेख्नले लेख्ने अभ्यास गरें । आठ महिना अस्पताल बस्दा खुट्टाले लेख्ने मात्रै होइन खाने, नुहाउने, कपडा धुने, शौचालय जाने लगायत सबै काम सिकिसकेको थिएँ । अस्पतालबाट म नयाँ जिवन लिएर घर फर्किएँ । खुट्टाले लेखेरै प्रवेशिका परिक्षामा म दोश्रो तहमा उत्तिर्ण भएँ । 

भनेपछि त दुःखद दुर्घटना खुसीमा परिवर्तन भयो ।

सायद त्यो दुर्घटना नभएको भए आज यो सुदर्शन गौतम हुने थिएन होला । संसारका ‘व्रिलियन्ट’ व्यत्तिको नाम मध्येको सुदर्शन गौतम एक्लो हो । व्रिलियन्ट व्यत्तिहरुको बिचमा एक्लो भएर बाँच्न पाउँनु मेरो लागि गर्वको कुरो हो । 

सर्वोच्च शिखर सगरमाथासम्मको यात्रा चाहिं कसरी तय भयो ? 

खुट्टाले लेखेर एसएलसी पास गर्दा देशमा एक खालको तरंग पैदा भएको थियो । दोश्रो तहमा एसएली उत्तिर्ण भएको मलाई विभिन्न ठाउँमा अभिनन्दन गरियो । अभिनन्दनकै लागि काठमाण्डू आएँ । विभिन्न पत्रपत्रिका र टेलिभिजनले मेरो समाचार सम्प्रेषण गरे । यति थोरै काम गर्दा त यति धेरै चर्चा हून्छ भने अव नयाँ काम के गर्ने त भनी सोचें । त्यसपछि गाडी चलाउन थाले, रंगशालामा गएर खेल खेल्न सुरु गरें । कम्प्यूटर सिक्न थालें । मैंले गरेका यी सबै विषयको राष्ट्रिय स्तरमा बहस र चर्चा सुरु भयो । अपाङ्गता भएकै कारण जिन्दगी तनावमा बिताइ रहेका म जस्तै व्यत्तिहरुका लागि हाँसी खुसी जिवन बिताउन सन्देश पुगोस् भनेर मैंले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने निर्णय गरें । सगरमाथा आरोहण गर्नु पुर्व मैंले दश वटा जति देश तथा विदेशका अग्ला हिमाल चढें । ‘अपाङ्गता असक्षमता होइन’ भन्ने सन्देश प्रवाह गर्न मैंले सगरमाथा आरोहण गरेको हुँ ।


सगरमाथा आरोहण गर्नु चानचुने कुरा होइन । तर तपाइँको त दुवै हात छैनन् किन जोखिम माथि जोखिम मोल्नु भयो ? 

जिन्दगी नै एक प्रकारको जोखिम हो । म कार चढेर कतै जाँदैछु भने दुर्घटना भएर त्यही मर्न सकिन्छ । मान्छेको कमजोरी भनेकै मृत्यू हो । मृत्यूसँग डराइन्छ भने जोखिमका कामहरु केही पनि गर्न सकिदैन । मसँगै करिब आठ सय मानिसहरु सगरमाथा आरोहण गर्न जानु भएको थियो । कति बिचबाटै फर्कनु भयो । क्याम्प ५ सम्म पुग्दा त करिब १५ जना मात्रै हामी बाँकी थियौं । धेरैले मलाई सगरमाथा चढ्न सक्तैन भन्थे, भन्नेहरु फर्किएर आए, म चढें । त्यसकारण ‘सेल्फ मोटिभेसन’, ‘सेल्फ इम्पावरमेन्ट’ र ‘पोजेटिभ थिङ्िकङ’ मान्छेको जिवनमा सबैभन्दा ठुलो कुरा हो । 

सगरमाथाको चुचुरोमा पुग्दा कस्तो महसुश भयो ?

सगरमाथाको चुचुरोमा पुग्दा म त शून्य थिएँ । बचेर कतिबेला तल जाऊँ भन्ने मात्रै डर थियो । मौसम बिग्रिएको थियो । म आनन्द लिन सगरमाथा गएकै थिइँन । आनन्द लिने भए त भ्याली भ्यू टप तिर गएर बस्थें नि । सगरमाथा चढ्नु म आफैं भित्रको अन्र्तद्धन्द थियो । दुनियाँलाई देखाउन म सगरमाथा चढेको होइन । गिनिज वुकमा नाम लेखाउनु मेरो उद्देश्य होइन । दुवै हात गुमाएर सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने म नै एक्लो हुँ तर अहिलेसम्म पनि गिनिज वुकको लागि नाम पठाएको छैन । मैंले मलाई नै जित्नु थियो ।

सगरमाथापछि चन्द्रमासम्म पुग्ने योजना बनाउनु भएको भन्ने सुनिन्छ , यो कुरा कत्तिको सत्य हो ? 

यो कुरा एकदम सही हो । म क्यानेडियन नाशासँग आवद्ध पनि छु । सम्भवतः २ वर्षपछि म चन्द्रमा पुग्ने क्याम्पमा हुनेछु । मेरो शरीर र अन्य योजनाले साथ दिएमा म चन्द्रमा जान्छु ।

फिल्म खेल्ने कुनै योजना थियो ?

फिल्म खेल्छु भनेर कहिल्यै सोचेको पनि थिइँन । नसोचेको काम भयो । म एकदम खुसी छु । म रेखा फिल्मस्प्रति आभारी छु । कुनै पनि फिल्म प्रोडक्सन हाउस, संघ संस्था र राज्यले हरेकलाई अवसर सृजना गर्ने हो भने कुनै पनि वर्ग उपेक्षित हुनु पर्दैन् ।

रेखा जीको ‘हिम्मतवाली’ सँग चाहिं कसरी जोडिन आउनु भयो ? 

मेरो जिवनको सकारात्मक पाटो मध्ये ‘हिम्मतवाली’ पनि एक हो । मैंले अहिलेसम्म गरेका कामको एउटा सिमित वर्ग र तहका मान्छेहरुले मात्रै थाहा पाएका थिए भने ‘हिम्मतवाली’ ले चाहिं मलाई सबै वर्गसम्म मलाई पुर्याएको छ । दुवै हात नभएको व्यत्ति पनि फिल्मको हिरो हुन सक्छ भन्ने कुरा धेरैलाई थाहा भएको छ । तर मान्छे आफैंमा हिरो हिरोइन हुन सक्नु पर्छ । म नै दुनियाँको हिरो, हिरोइन र राजकुमार, राजकुमारी हुँ भनेर सोच्यो भने उसको जिन्दगी आफैं राम्रो हुन्छ । ‘हिम्मतवाली’ ले मलाई मात्रै होइन प्रत्येक व्यत्तिलाई सकारात्मक सोच पैदा गरेको छ । जो व्यत्ति हरेस खाएर जिन्दगी नै खत्तम भयो भनेर बसेको छ फिल्म ‘हिम्मतवाली’ ले चाहिं नयाँ जिवन जिउने उर्जा दिन्छ ।  

 
सबै व्यत्ति रेखा थापा या सुदर्शन गौतम बन्न सम्भव छ ? 

सुरुमा व्यत्तिले संघर्ष गर्न सक्ने क्षमता बनाउनु पर्यो । रेखा थापा या सुदर्शन गौतमले गरेका संघर्षका पाना पल्टाउनु पर्यो । रेखा थापाले १३ वर्षसम्म गरेको संघर्ष हेर्न जरुरी छ । सुदशर्न गौतमले खुट्टाले लेख्यो, कार चलायो, सगरमाथा चढ्यो । यी सबै गर्नुको पछाडी उसले गरेको अभ्यास र संघर्षलाई हेर्न जरुरी छ । हरेक मान्छेमा रेखा थापा र सुदर्शन गौतम बन्न सामथ्र्य छ तर अभ्यास गर्न जरुरी छ ।

तर सबैजना सफल त बन्न सक्तैनन् नि ?

बाटो एउटै हो । तर मान्छेमा अभ्यासको कमी हुन्छ । एउटा काममा असफल भयो भनेर छोड्नु हुन्नं । असफलतालाई नै सफलताको बाटो बनाउनु पर्छ ।

आगामी योजना के के छन् ? 

म फिल्म निर्माणमा आउँछु तर अभिनयमा सक्रियता दिने नदिने बारे चाहिं ‘हिम्मतवाली’ रिलिज पछि थाहा हुन्छ । म व्यवसायी पनि हुँ । भोली यही नै गर्छु भन्ने त्यस्तो अडिग योजना छैन ।

तपाइँको जिवनबाट के पाठ सिक्ने ?

हरेक कुरालाई सकारात्मक रुपमा लियो भने जिवन चलाउन गाह्रो हुन्न भन्ने पाठ मैंले आफ्नो जिवनबाट सिकें जस्तो लाग्छ । कस्ता कस्ता संघर्षलाई मान्छेले पार गरिरहेको हुन्छ । हामी अपाङ छौं सँगै सृजनशील पनि ‘अपाङ्गता असक्षमता होइन’ भन्ने पाठ नै मेरो जिवनले दिन्छ जस्तो लाग्छ । फिल्म ‘हिम्मतवाली’ मा पनि हामीले यही कुरालाई जोड दिएका छौं ।   

 

 

 

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be