‘कलाकार हराउनु भनेको कलाकारिता हराउनु होइन’ : राजबल्लभ

  • News Page
  • Published On: July 26,2015


कोही कता किन जान्छन् भन्दा पनि कहिँ किन बस्दैनन् भन्ने कुरा महत्वपूर्ण हुनसक्छ। सन्दर्भ हो ( ’कलाकार विदेश जानु’ कोही किन विदेश जान्छन् ? किन त ? एउटा मान्छेले घर र जनावरले जंगल छोड्नुमा उस्तै उस्तै समानता हुनसक्छ। खोज मामको, घामको अनि दामको तर जनावरलाई मान्छेलाई जस्तो अन्तिम कारण जरुरी नहोला। सन्दर्भ र प्रक्रिया फरक होलान् तर सार लगभग उस्तै हो।  कलाकार किन विदेश जान्छन् ? जान नहुने हो र ? होइन। तर, तेतै किन बस्छन ? त्यसबारेको यो  मेरो लेखाइ, बुझाइ, हेराइ अनि भोगाइ नितान्त व्यक्तिगत हो। यसबारे अरू कसैले त्यस्तो पनि केही भनेका छैनन् तर, मेरो मनले मानेन त्यसैले यो जमर्को गरे।

आम मान्छेको सामाजिक र पारिवारिक दायित्व हुन्छ। कलाकार पनि मान्छे नै हो। १७ वर्ष अगाडी, एक अग्रज कलाकारले  परिवारको लागि विदेश बस्ने निर्णय गर्नुभयो। आज शनिबार १७ बर्ष पछि अर्का एक चर्चित कलाकारले  पनि परिवारकै लागि विदेशको फ्लाइट समात्नु भो। बीचमा धेरैले यस्तो निर्णय लिनु भएको छ। एउटा जनावर त आफ्नो सन्तानका खातिर सिंह या बाघमाथि धावा बोल्छ भने आफ्नो पेशा अनि सपनालाई नै धावा बोल्नु सानो कुरा होइन, धेरै मान्छेले जीन्दगीमा यसो गर्न बाध्य हुन्छन्। जिन्दगीमा धेरै पटक मान्छेले यस्तै यस्तै निर्णय लिनु पर्छ अनि हिँड्नुपर्छ। यो सरल जस्तो लाग्ने तर केही कठोर कदम हो। ’द सो मस्ट गो अन’ जिन्दगी हो, उतार चढाब हुन्छ। चर्चा कलाकारको भयो होला, यधपी प्रसङ्ग नौला र अनौठा भने होइनन्। 

चलचित्र र कलाकारका कुरा, घाम जस्तै छर्लंग हुन्छ।  जसले जति फलाके पनि चलचित्र उद्योगमा आबद्ध महानुभावको वर्तमान जति रंगिन हुन्छ, भविष्य विरलै हुन्छ। सबैको हकमा त्यो लागु नहोला तर दर्शकले कल्पना गरेको जीवन र कलाकारले जिउने जीवन बीच सधै जसो मनमुटाव भैरहन्छ। जिन्दगीको उत्तरार्धमा, कतै खुशी हुदैन, कतै पैसा हुदैन, कतै साथ हुदैन्। यथार्थ दर्शकको कल्पना भन्दा नितान्त फरक हुन्छ। केही राम्रा किसिमका फरक होलान तर केही खै कस्तो(कस्तो? अरु देशका उद्योग भन्दा पनि नेपाली फिल्म उद्योगको हकमा संघर्ष बढी र सम्भावना कम छ। कारण धेरै कुरा सिमित छ। सफलता आउछ जान्छ, ऋतु जस्तै। यसमा चाहे अग्रज कलाकारको मत लिनुस् या अहिलेका पुस्ताका कलाकारको।

 कला क्षेत्रमा लगेर मन खुशी हुन्छ तर जिन्दगीको तीतो एवम् प्राकृतिक यथार्थ आफ्नो वरिपरिका वस्तुहरुको विवरणले मनको मुडलाई सधै प्रभाव पार्छ। त्यसै पनि मनोरंजन मान्छेका संघर्षका अगाडी गौण हुन्छन। नेपाली फिल्म खेलेर परिवार धान्न कति गार्हो रहेछ र सामाजिक रुपान्तरण संगै तालमेल मिलाउन कति हम्मे हम्मे पर्दो रहेछ। यो घटना प्रतिनिधि उदाहरण मात्रै हो। आम्दानीका वैकल्पिक स्रोत हुनेहरु वरिपरि रहन्छन। असहजतामा हुनेहरु, कोहीले विकल्प छिट्टै भेट्टाउछन्, कोहीले नभेट्टाउँदैनन् या खोज्दैनन्, या त खोज्नै नपर्ला। हरेक जिन्दगीको पृष्ठभूमि, प्रसङ्ग अनि प्राथमिकता फरक फरक हुन्छ। 

साच्चै हो, परिवार भन्दा ठुलो केही हुदैन। त्यसैले त, हरेक दिन धेरै दाजु भाइ, दिदी बहिनीहरु पनि विदेशिनु हुन्छ, आफ्नो छोरा छोरी अनि घर परिवारको लागि। धेरैले आफ्नो कर्म अनि सपनाको तिलान्जली दिएका हुन्छन्। देशको यस्तो वातावरणमा, एउटा कलाकार अपवाद हुनै सक्दैन। ३ घण्टा मात्र उ कलाकार होला, २१ घण्टा उ कसैको छोरा, श्रीमान, बाउ हुन्छ अनि उसको हातमा पनि बागाटिङ्गा धर्सा अनि कठिन यात्रा हुन्छ जिन्दगीको। सबै चाँदीको चम्चा लिएर जन्मेका हुदैनन्।

हरेक कुराको मुल्याकंन गर्ने मापदण्ड हुन्छ। त्यसलाई एउटा निश्चित प्रक्रिया अनि प्रयोगशालामा केहि टेस्ट गरे पछि त्यसको गुणस्तर थाहा हुन्छ। कसैलाई केही लाग्दैमा अनि आफ्नै तरिकाले लेख्दैमा त्यसको मापन हुँदैन, हुणसक्दैन्। धारणा एउटा कुरा हो, यथार्थ अर्को। राम्रो या नराम्रो लाग्न या थाहा पाउन कम्तिमा पनि एउटा खोज, अध्ययन र प्रक्रिया चाहिन्छ। गहिराइको मापन गर्ने हो भने जिन्दगीको हैसियत, उसको जीबन शैली, समाजमा उसले गर्ने गतिविधि मार्फत गरिन्छ।

छिमेकी देशका कलाकारको अरबौ कमाई, उनीहरुको जिन्दगीका शैली अनि समाजमा उनीहरुको चहल पहल  नेपाली कलाकारको जीवनमा खोजिनु अनि त्यसको दाँजोमा तुलना गर्दा आकर्षण कम हुनु स्वाभाविक हो। सानो देश, अस्थिर राजनीति अनि सिमित साधन र स्रोतसंगै हरेक कुराले कलाकारको जीवनमा प्रत्यक्ष र परोक्ष प्रभाव परेको हुन्छ, सम्भावना र परिधिको घेरा कोरेको हुन्छ। यो हरेक पेशामा लागु हुन्छ। तुलना कलाकारितामा मात्रै होइन हरेक पेसा अनि पेसाकर्मीमा गर्ने हो भने स्पष्ट हुन्छ। देश भित्र र बाहिर, हरेक कुरा आकाश र घर्ती जस्तै फरक छ। तर फेरि चर्चा अलि बढी कलाकारकै हुन्छ अनि अरु देशका कलाकार सामु उ हार्छ। उसका आफन्तले नै उसलाई हराई दिन्छन्। र्साहै भावुक, संवेदनशील हुन्छन कलाकार।

न खोक्रो सपना बाँढेका छन् कलाकारले, न राजनीति गरेका छन् न भ्रस्टाचार गरेका छन्। बरु आफ्नो दुख भुलेर हाँसो छर्ने जमर्को गरेका छन्। कुनै पनि देशले दिएको एउटा अवसरलाई भविष्य अनि परिवारको निम्ति आस्थाई रुपमा अँगालछन् भने त्यो कुनै पाप होइन। समय अनुकुल मान्छे चल्नुपर्छ। अवसरलाई अगाल्नु पर्छ। गर्मीमा शितलता खोज्नु अनि जाडोमा घाम खोज्नु प्राकृतिक हो। अझ त्यो आफ्नो लागि मात्रै नखोजी, आफ्नो परिवारको लागि पनि खोज्नु राम्रो मान्छेको गुण हो। विदेशिनुले केही हदसम्म राहतको वातावरण मिलाइदिन्छ। हरेक दिन हजारौको संख्यामा नेपाली युवाहरु विदेश जान्छन्। जानैपर्ने विडम्बना छ। संसारभरिका मान्छे कतै न कतै गइ रहेका हुन्छन। मन नेपाल मै छोडेर सात समुन्द्रपारी जानु सानोतिनो कुरा होइन। भाग्यमानीहरु जता जाँदा पनि मन संगै जान्छन्। तर हाम्रो शरीर अन्तै, मन अन्तै। एउटा आम नेपालीको सपना भन्दा केहि फरक हुदैनन् नेपाली कलाकारका सपना र विवशता ( कलाकार उ पेशाले हुन्छ अनि जन्मले नेपाली। कथा उस्तै, व्यथा उस्तै, पेसा मात्रै फरक। एउटा नेपाली विदेशीदा उसले मन शितल नबनाए पनि घर शितल बनाउछ। देउताहरुको पनि प्रसङ्ग अनुसार बनको बास हुन्थ्यो। अहिलेको जमानामा यता उता हुनु स्वाभाविक हो( जिन्दगी एउटा यात्रा र भोगाइ।

देशको सामाजिक, आर्थिक, सांस्कृतिक अनि शैक्षिक उन्नति र विकाश, देशको स्थाई सरकार र राजनीतिक अवस्थासंग जोडिएको हुन्छ। अनि मनोरंजनको मनोविज्ञान ती हरेक क्षेत्रबाट प्रभावित हुन्छन। कम्पुटर फास्ट हुनलाई हार्डवेर अपडेट गर्नु पर्छ। खाली माउस र की बोर्ड फेरेर हुदैन। सफ्टवेरलाई गाली गरेर पनि हुदैन। एउटा कलाकार त फगत सफ्टवेर मात्रै हो। कलाकार पलायन भए, फेरि विदेश गए भनेर खाली नकारात्मक हुनुभन्दा फिल्म नचल्नु, फिल्मको बजार खोज्नु, विस्तार गर्नु, कलाकारहरुको बिडम्बना नबुझ्नु, टेक्निकल देखि साईकोलोजिकल कारण खोज्न जरुरी छ।

कति प्रतिशतले सिनेमा हेर्छन? मार्केट, मेथड र मेकिङ्ग कस्तो छ ? बर्षमा कति चलचित्र बन्ने गर्छन? कतिले लगानी उठाउछ। बच्चा बच्चालाई थाहा छ। उसै त बर्षौ देखि राजनीति अस्थिर छ, देश नै बिरामी छ। अनि हरेक क्षेत्र प्रभावित छ। परिवर्तनको पहल, प्रयास भएका छन् तर ठुलो कुरा वातावरण हो तर चाबी हाम्रो हातमा छैन। कुनै पनि क्षेत्रलाई मन दिनु, जिन्दगीको दश बर्ष दिनु भनेको सानो कुरा होइन।

आजकल, मुख बोल्न पर्दैनस यथार्थ बोल्छ, जीवनशैली बोल्छ। फेसबुक स्ट्याटसमा फिल्म हिट लेख्दैमा निर्माताको गोजी हिट अनि निर्देशकको कैरीयर हिट अनि कलकारको लाइफ हिट हुँदैन। सबै हात्तीको दाँत जस्तै हो। लगानी किन उठेको छैन। पुराना किन निस्क्रिय छन्। कारण छर्लंगै छ। कारण पैसा छैन, खुशी छैन, सन्तुष्टी छैन आदि इत्यादी। यथार्थ र भ्रम फरक कुरा हो। संघर्ष गर्छन, सपना देख्छन तर नामले झन् थिच्छ, झस्काई रहन्छ परिवार अनि समाजका आशा अनि अपेक्षाहरुले। संसार भरिका कलाकारको पनि जीवनको सुरुवात अनि अन्त्य तेती रहरलाग्दो हुँदैन। जिन्दगीमा स्टारडम भन्दा ठुलो अनि बलियो आम जिन्दगी हो, वातावरण हो, अनि जिन्दगीका संघर्ष र जिम्मेवारीहरु हुन्।

अनि त्यस पछि व्यक्तिगत स्वतन्त्रता अनि रहरहरु आउलान्। जिन्दगीमा हप्ताका सात दिन छैनन्। ठुलो देश अनि ठुलो कलाकारको ’लार्जर देन लाइफ’ जीवनशैलीसँग तुलना गरेर यस्तापनि ’नेपाली कलाकार’ भन्नेहरुको पनि दोष छैन अनि रात दिन संघर्ष गर्दागर्दै, कुहिरोमा काग हराए जस्तै, अन्योल भबिष्यमा हराउने कलाकारहरुको पनि दोष छैन। प्राकृतिक हो, दिनमा २४ घण्टा हुन्छ( चलचित्रमा जम्मा ३ घण्टा ( बाँकी २१ घण्टामा क्यामराका जस्ता बटन हुदैनन्। कथा र पटकथा हुँदैनन्, जीवनको अनुभव सबैको लागि पहिलो हो। 

कलाकार हराउनु भनेको कलाकारिता हराउनु होइन। सुस्ताउनु मात्रै हो, मान्छेका व्यक्तिगत अनि सामाजिक जिम्मेवारी हावी हुनु हो। मन फुरुङ्ग हुँदा कलाकारिता फेरि फक्रन सक्छ, फर्किन्छ। ठाउँ अवस्था हेरेर कला जता पनि फर्किन्छ सक्छ। पहरामा एक्लै फुलेको फूल पनि उत्तिकै राम्रो देखिन्छ, अनि फूल बगैचामा पनि। बाहिर फक्रिदैमा त्यसको अस्तिव हराइ हाल्दैन। सबैभन्दा ठुलो मन रहेछ, मन भन्दा नि ठुलो जिम्मेवारी रहेछ।  को–को हराए भनेर गाली गर्नुभन्दा पनि किन हराउँदैछन्? भन्नेतीर ध्यान दिनु सकारात्मक पहल हुन्छ। कलाकार कुनै देउता होइनन् – मान्छे नै हुन्। तरिका फरक फरक होला तर सबैको स्वार्थ उही हो, खोज उस्तै हो, ‘खुशी’ आफ्नो अनि आफन्तको ।

सेतोपाटी डटकममा प्रकाशित नायक कोइरालाको विचार


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be