२०७१ लाई फर्केर हेर्दा : श्रीकृष्ण र श्वेता वर्षका हिरो हिरोइन
- News Page
- Published On: April 16,2015
२०७१ सालमा ८३ वटा फिल्महरु प्रदर्शनमा आए । जसमध्ये एउटा मात्र फिल्म व्लकबस्टर भयो भने ४ वटा फिल्म सुपरहिट र ४ वटा जति फिल्म हिट फिल्मको सूचीमा पर्न सफल भए भने ४ वटा फिल्मले औषत व्यापार गर्न सफल भए । बाँकी सबै फिल्मीहरु फिल्मी भाषामा भन्नु पर्दा वासआउट भए । यसर्थ २०७१ साल नेपाली फिल्मका लागि ७० सालको तुलनामा त्यति निराजनक वर्ष भने भएन ।
व्लकबस्टर ‘कोहिनूर’
कोहिनूर ०७१ सालको व्लकबस्टर फिल्म हो ‘कोहिनूर’ । ‘कोहिनूर’ को जस्तो व्यापार न कहिले भएको थियो न कहिले हुन्छ । आफ्नो फिल्मी करिअरमा थुप्रै हिट फिल्म दिएका श्रीकृष्णले आफु अभिनित ‘कोहिनूर’ जिवनकै उत्कृष्ट फिल्म बनाएका थिए । तर, उनले आफ्नै फिल्म पाएनन न त दर्शकले गरेको प्रशंसा नै सुन्न पाए । ‘कोहिनुर’ ले अहिले सम्ममा देश विदेशमा गरी ६ देखि ७ करोडको बीचमा सेयर प्राप्त गरेको छ । यो फिल्मले देश र विदेश गरी झण्डै १५ पबचयम ग्रस कलेक्सन गर्न सफल भएको छ । यसर्थ ‘कोहिनुर’ नै वर्ष २०७१ सालको सर्वाधिक सफल फिल्म बन्न पुगेको छ । ‘कोहिनुर’ पछि लागेका र चलेका फिल्महरु जति सुकै चलेता पनि ‘कोहिनुर’ को आक्रमक व्यापारले गर्दा ‘कोहिनुर’ को अगाडि सबै फिक्का देखिए । तथापी जे जति चले त्यस मध्ये फिल्म ‘नाई नभन्नू ल’ २ ले साह्रै राम्रो विजनेश गर्यो । प्राप्त आकंडा अनुसार ‘नाई नभन्नू ल २’ ले लगभग पौने दुई करोडको सेयर प्राप्त गरेको छ । यसर्थ, ‘नाई नभन्नू ल २’ ‘कोहिनूर’ पछिको दोश्रो सफल फिल्म बन्न पुगेको छ । यस्तै २ हजार ७१ सालका सुपरहिट फिल्ममा ‘कवड्डी’, ‘नोभेम्व रेन’ र ‘हिम्मतवाली’, ‘लज्जा’ र ‘जेरी’ पर्न आउँछन् । फिल्म ‘जेरी’ ले सुपरहिटको व्यापार गरेतापनि लगानी बढी भएका कारण निर्मातालाई नाफा भने कम पर्न गयो । त्यसो त २०७१ सालमा चल्न त ‘नोभेम्वर रेन’ पनि चल्यो । तर, त्यसको पनि लगानी अलि बढी भएका कारण निमार्ताले जति मुनाफा कमाउँछन् भन्ने थियो त्यो भने भएन । तथापी ‘नोभेम्वर रेन’ ले देश विदेश र डिभीडी राइटबाट गरी लगभग ९० लाख जति रकम हात पारेको देखिन्छ । यसर्थ ‘नोभेम्वर रेन’ पनि हिट फिल्मको श्रेणीमा परेको छ । यता अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’ ले भने रेखालाई नयाँ गाडी चढ्ने र नयाँ अपार्टमेन्ट किन्ने सम्मको अवसर जुटाइदिएको छ । ‘हिम्मतवाली’ ले लगभग ७५ लाख जति कमाएको देखिन्छ । यस्तै ‘लज्जा’ ले पनि जेनतेन निर्माता छवि ओझाको इज्जत भने जोगाइदिएको छ । ‘लज्जा’ ले सबैतिरबाट गरेर ७० देखि ७५ लाखसम्म उठाएको हाम्रो जानकारीमा आएको छ । यस्तै ‘बिर्खेलाई चिन्छस्’ भन्ने फिल्म कम बजेटमा बनेका कारण यसका निर्माता सुवास थापालाई पनि बिर्खेलाई चिन्छस्ले गाडी मात्र चढाएन प्लेन चढेरै देश विदेश घुम्ने अवसर जुराइदिएको छ । यतिखेर बिर्खेका निर्माता सुवास थापा पत्नी सहित विदेश भ्रमणमा छन् । यस्तै ‘लुट’ निर्देशक निश्चल बस्नेतको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले देश तथा विदेश र डिभी राइट गरी आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । त्यस्तै २०७१ सालमा प्रदर्शन भएका फिल्महरु ‘स्टुपिड मन’, ‘तथास्तु’, ‘पुर्नजन्म’ र भूल ‘भुलैया’ औषत व्यापार गरे पनि निर्माताको पुरै लगानी भने सुरक्षित गर्न सकेनन् ।
को हुन् त उत्कृष्ट निर्देशक ?
सरसर्ती हेर्दा र चलेको आधारलाई मापन गर्ने हो भने निर्देशक आकाश अधिकारी २०७१ सालका ब्लकबस्टर निर्देशक भन्नु पर्ने हुन्छ । थुप्रै फिल्म निर्देशन गरेका आकाश अधिकारीले ‘कोहिनूर’ थप उचाई बनाए । यता ‘नाई नभन्नू ल २’ का निर्देशक विकास आचार्य पनि २०७१ सालका सफल निर्देशकको सूचिमा गनिन आउँछन् । यस्तै ‘कवड्डी’ का निर्देशक राम बाबु गुरुङ, ‘जेरी’ का निर्देशक हेमराज विसी र ‘टलकजंग भर्सेस टुल्के’ का निर्देशक निश्चल बस्नेत पनि ०७१ सालका सफल निर्देशक हुन् । त्यसो त ‘हिम्मतवाली’ चलेका कारण सफल निर्देशकको सूचिमा नायिका रेखा थापालाई पनि राख्नु पर्ने हुन्छ । यस्तै ‘लज्जा’ का निर्देशक नवल नेपाल, ‘नोभेम्वर रेन’ का निर्देशक दिनेश राउत र ‘बिर्खेलाई चिन्छस्’ का निर्देशक अराजकेशव पनि फिल्म चलिदिएका कारण २०७१ सालका सफल निर्देशकको सूचिमा अटाउन पुगेका छन् ।
को को चिप्लिए ?
२०७१ सालमा मै हुँ भन्ने धेरै निर्देशकहरु चिप्लिए । पुराना निर्देशक शम्भू प्रधान धेरै वर्षपछि ‘रंग बैजनी’ मार्फत कम ब्याक त भए तर उनको कमब्याक ब्याकमा परिणत भयो । यस्तै ‘मैले जे छोयो त्यही सुन हुन्छ’ भन्ने निर्देशक सुरज सुब्बा नाल्बोको घमण्ड पनि ०७१ सालमा तोडियो । सुरजका फिल्महरुले सुनको त कुरै छाडौं नुन किन्ने समेत पैसा उठाउँन सकेनन् । यस्तै श्री ५ अम्बरेका निर्देशक ‘दीपा बस्नेत’ पनि गएको वर्ष फ्लप निर्देशकको सूचिमा परेकी छन् । यस्तै दयाराम दाहाल, , मदन घिमिरे, ऋषि न्यौपाने लगायतका निर्देशकहरुका फिल्महरुले पनि कुनै फूल पार्न सकेनन् । औषत व्यापार गर्ने फिल्मका निर्देशक सविर श्रेष्ठ, योगेश घिमिरे, साजन श्रेष्ठ (नव निर्देशक) औषममै सिमत हुन गए । नव निर्देशकका रुपमा आएका ‘हँसिया’ का मिलन चाम्स, ‘मुखौटा’ का अर्पण थापा, ‘एउटा साथी’ का लक्ष्मण सुवेदी, ‘ताण्डव’ का मुर्रे केर, ‘लोग्ने मान्छे’ का लय संग्रौला, ‘सुन्तली’ का भाष्कर ढुंगाना, ‘उत्सव’ का कुमार भट्टराई, ‘षड्ङ्ग’ का सुरज सुनुवार, ‘सुनपानी’ का सविन बास्तोला, ‘माला’ का सन्दिप भूपाल सिंह आदिले निर्देशन गरेका फिल्महरु चल्नलाई त चले तर दर्शक बिना नै चले । यसै क्रममा फुच्चे निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ नचलेपनि संसारकै सौगात सबै भन्दा कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ द् वल्र्ड रेकर्डमा नाम लेखाउन भने सफल भए । यसलाई भने ०७१ सालको उपलब्धी नै मान्नुपर्छ ।
कुन नायक हिट कुन फ्लप ?
त्यसो त २०७१ सालमा पनि थुप्रै नयाँ पुराना नायकाहरु रजतपटमा देखापरे । तथापी वर्चश्व भने नयाँको भन्दा पनि पुरानाकै बढी देखियो । नायक आर्यन सिग्देलको ‘लज्जा र ‘नोभम्वर रेन’ चल्यो भने उनका अरु फिल्म सबै डुबे । ‘लज्जा’ मा पनि आर्यनको भन्दा नव नायिका शिल्पा पोखरेलको नै बढी चर्चा भयो । तथापी चकलेटी हिरोको रुपमा आर्यन वर्ष भरी नै छाइरहे । यस्तै अर्का नायक जीवन लुइटेलको पनि कुनै फिल्म सोचे जस्तो चलेनन् तथापि जीवन पनि वर्ष भरी नै छाइरहे । यतिखेर भने जीवन अमेरीकामा छन् र ग्रीनकार्ड लिएपछि मात्र नेपाल फर्किने सुरुमा छन् । यसर्थ जीवन फिल्म नचले पनि चलेको हिरो भन्दा फरक नपर्ला । यस्तै अर्का नायक दयाहाङ राई पनि वर्ष भरी नै छाइरहे । अरु फिल्म उनका खासै नगए पनि ‘कवड्डी’ ले भने दयाहाङको इज्जत जोगाइदियो । ‘सम्बोधन’ मा पनि उनको कामलाई सबैले राम्रै माने । तर २०७१ सालमा यी सबै नायकहरु भन्दा अब्वल नायकका रुपमा सौगात मल्ल देखा परे । दुभाग्र्य उनका कुनै पनि फिल्म चलेनन् तर उनको अभिनय क्षमता र विविध चरित्रमा उनले निभाएको भूमिकाको भने सबैले तारिफ भयो । यस्तै कुशल अभिनेताका रुपमा चिनिने दीलिप रायमाझीका पनि २०७१ सालमा २ वटा फिल्म ‘लोग्ने मान्छे’ र ‘विधवा’ रिलिज भए । दुवै फिल्मको के हालत भयो ? अवगत नै छ । त्यसो त सुमन सिंह, निरज बराल, गौरव पहारी, संयम पुरी, सलोन बस्नेत लगायतका थुप्रै नायकहरुका फिल्महरु पनि ०७१ सालमा नलागेका भने हैनन् । तर, उनीहरुका फिल्म दुई रेक्टरको भूकम्पझंैँ भए । अर्थात् कहिले आयो र कहिले गयो पत्तै भएन ।
अनमोलको आश
तर यो भिडमा एउटा यस्तो नायक देखा प¥यो जसलाई हेर्न दर्शकहरु हलमा उर्लिए । विशेष गरी टीनएज युवतीहरु भुवन केसी पुत्र अनमोल केसी अभिनित फिल्म ‘जेरी’ हेर्न हलमा उर्लिए । अभिनय क्षमताको कुरा गर्ने हो अनमोलको प्रसंशा गरिहाल्नुपर्ने देखिदैन । तथापि अनमोल चले । त्यसैले ‘जेरी’ भन्दा पनि अनमोल चलेको हो भन्ने प्रकारको विश्लेष फिल्मी बजारमा हुने गरेको पाइयो । यसर्थ अनमोल नै २०७१ का सफल हिरो हुन भन्दा फरक नपर्नु पर्ने हो तर ‘कोहिनूर’ जस्तो ब्लकबस्टर फिल्मका अभिनेतालाई बिर्सनु भने हुँदैन । यसर्थ ०७१ सालका सर्वाधिक सफल अभिनेता भन्दा पनि वर्ष हिरोको रुपमा हामीले श्रीकृष्ण श्रेष्ठलाई छानेका छौं ।
रेखापछि प्रियंका हिट
२०७१ सालमा नायकहरुको तुलनामा नायिकाहरु बढी देखिए रजतपटमा तर व्यापारका आधारमा कुरा गर्ने हो भने फिल्म ‘हिम्मतवाली’ चलेपछि रेखा थापा नै वर्षकी हिट हिरोइन हुन् भन्दा फरक पर्दैन । तर रेखाको उचाइ नम्वर १ वा नम्वर २ भन्दा पनि धेरै माथिको बनिसकेकाले रेखालाई अब नायिकाहरुको काउनडाउनमा राख्नु त्यति उचित हुँदैन । त्यसैले रेखा पछि अन्य नायिकाहरुको कुरालाई जोडौं । त्यसो त वर्षैभरि छाउने नायिकाका रुपमा प्रियंका कार्की देखिइन । नयाँ नयाँ फिल्मको सुटिङमा डेट मिलाउँदैमा प्रियंकालाई फुर्सद भएन । प्रियंका त्यति व्यस्त बनिन् २०७१ सालमा । प्रियंकाका रिलिज भएका फिल्महरु ‘नाई नभन्नू ल २’ र हाल प्रदर्शनरत ‘नाई नभन्नू ल ३’ साहै्र राम्रो सँग चलेको र चलिरहेकाले प्रियंका कार्की नै वर्ष २०७१ सालकी हिट हिरोइन हुन् ।
तर, यहाँ पनि ‘कोहिनूर’ कै कुरा आउँछ । कोहिनूरकी अभिनेत्री श्वेता श्रीलाई हेर्नकै लागि भएपनि यतिखेर विदेशमा समेत दर्शकहरुको कुम्भ मेला लाग्ने गरेको छ । यसर्थ अभिनेता श्रीकृष्ण श्रेष्ठलाई वर्ष हिरो माने जस्तै वर्ष हिरोइनका रुपमा श्वेता खड्कालाई छान्नु पर्ने हुन्छ । यता नायिका निशा अधिकारीलाई भने यो वर्ष फाप्दै फापेन भन्दा पनि हुन्छ । तथापि उनी क्रिक्रेटर शरद भेषवाकर व्याईफ्रेन्डका कारण चर्चामा भने रहिरहिन । यस्तै २०७१ सालमा अर्की नायिक सुमिना घिमिरेका पनि थुप्रै फिल्म रिलिज भए । तर, सुमिनाका कुनै पनि फिल्महरुले पानी माग्न पाएनन् । अन्ततः सुमिनाले घरजम गर्ने निर्णय गरिन र गरिन् पनि । यस्तै नायिका निता ढुंगानाको यो वर्ष जम्मा जम्मी एउटा मात्र फिल्म रिलिज भयो ‘भूलभुलैया’ । ‘भूलभुलैया’ एक दुई दिन त चले जस्तो देखियो तर ‘भूलभुलैया’ ले लगानी सुरक्षित गर्ने व्यापार भने गर्न सकेन । यसर्थ निताको यो वर्ष आफ्नो व्याइफ्रेन्ड चिनाउदैमा बित्यो भन्दा फरक पर्दैैन । यस्तै २०७० सालमा ‘झोला’ फिल्म खेलेर सबैको वाहवाही बटुलेकी नायिका गरिमा पन्तको गएको वर्ष ‘ठूली’ र ‘रंग वैजनि’ रिलिज भए । ‘ठूली’ गीतका कारण चर्चामा आए पनि ‘रंग वैजनि’ ले भने कुनै रंग छर्न सकेन । यस्तै नायिका नम्रता श्रेष्ठको ‘नोभेम्वर रेन’ चलेपनि आफ्नै निर्माण एवं अभिनय रहेको फिल्म ‘सोल सिस्टर्स’ भने सुपर फ्लप बन्यो । नन्दिता केसी, केकी अधिकारी, रिमा विश्वकर्मा, निश्मा घिमिरे, जेनिशा केसी, रिश्ता बस्नेत, हर्षिका श्रेष्ठ, पूजा शर्मा, शिखा शाही लगायतका नायिकाहरुका फिल्महरु पनि आयाराम गयाराम मै सिमित भए । नायिका झरना थापाका कुनै पनि फिल्महरु २०७१ सालमा रिलिज भएनन् ।
शिल्पाको चर्चा
यस्तै २०७१ सालमा नव नायिकाहरु पनि नदेखिएका भने होइनन् । ‘वान वे’ कि माला लिम्वु, ‘अभाष’ की आस्मा डिसी, ‘जिन्दगी रक्स’ की अकेशा विष्ट, ‘स्टुपिट मन’ की चाँदनी शर्मा लगायतका नायिकाहरुले पनि नायिकाको भीडमा आफ्नो नाम लेखाएर संख्या मात्र थपेका छन् । बरु ‘कवड्डी’ बाट भित्रिएकी रिश्मा गुरुङ्ले भने अभिनय क्षमताका कारण सबैको मन जितिन् भने छविारज प्रोडक्सनको ‘लज्जा’ मार्फत डेव्यु भएकी मोडल शिल्पा पोखरेलको चर्चा बढी भयो । यस्तै २०७१ सालमा नव नायकहरुको हविगत पनि नव नायिकाहरुको जस्तै रह्यो । तर, ‘टलकजंग भर्सेस टुल्के’ मार्फत देखा परेका खगेन्द्र लामिछानेले अभिनय क्षमता देखाए । र्यापर आशिष राना ‘लाउरे’ को चर्चा ‘ताण्डव’ मा भएपछि फिल्म फ्लप भएका कारण लाउरे लाइटमा आउन सकेनन् । ‘हिम्मतवाली’ का हिरो सुदर्शन गौतमको चर्चा त भयो तर रेखा थापासँग जोडिएर मात्रै ।
बिहेको वर्ष
२०७१ सालमा थुप्रै कलाकारहरुका लागि बिहे वर्ष पनि बन्यो । महानायक राजेश हमाल गएको वर्ष विवाह बन्धनमा बाँधिए । आधा शताब्दी पार गरेपछि महानायक हमालले आफु भन्दा लगभग आधा उमेरले कान्छी मोरङ्गकी मधु भट्टराईसँग जेठ १० गते विवाह गरेका थिए । राजेश यतिखेर श्रीमती सहित अमेरिका भ्रमणमा छन् । यस्तै अभिनेत्री मिथिला शर्माले ५२ वर्षको उमेरमा आएर ७४ वर्षिय पूर्व आइजीपी मोतिलाल बोहोरासँग असार २० गते बिहे गरेकी थिइन् । भनिन्छ, पूर्व आइजीपि बोहोरासँग मिथिलाको लामो समयदेखि प्रेम सम्बन्ध रहदै आइरहेको थियोे । यस्तै असार महिनामै अर्का अभिनेता श्रीकृष्ण श्रेष्ठले पनि आफ्नी हिरोइन श्वेता खड्कालाई विवाह गरेका थिए । तर, दुर्भाग्य बिहेको तीन दिनपछि हनिमुनका लागि भन्दै भारत उडेको यो दम्पती काठमाडौं फर्किंदा भने छुट्टिइएर फर्कियो । यस्तै नायक आर्यन सिग्देले प्रेमिका सपना भण्डारीसँग वैशाख ७ गते विवाह गरेका थिए भने अभिनेत्री दिया मास्केको विहे असार २३ भएको थियो । दियाले आफ्ना गुरु अभिनेता तथा निर्देशक अनुप बरालसँग विवाह गरेकी हुन् । यस्तै अर्की नायिका सुमिना घिमिरेले पनि गत फागुन २५ गते पाइलट रोशन सापकोटासँग विहे गरिन् भने सुमिनाले विवाह गरेको तीन दिनपछि अर्की अभिनेत्री झरना बज्राचार्यले पनि भारतीय मुलका मलेसियन व्यापारी राहुल अग्रवालसँग विहे गरेकी थिइन । यस्तै नायिका ऋचा सिंह ठकुरीले गत असारमै गजेन्द्र थापा भन्ने व्यक्तिसँग विहे गरेकी थिइन । यस्तै अभिनेता रेश मरठ्ठाले पनि २०७१ सालमै गायक एम वुद्धकी बहिनी आश्मी अधिकारीसँग बिहे गर्ने भनी इन्गेजमेन्ट गरि सकेका छन् । नायिका स्वेता भट्टराई र प्रकृति श्रेष्ठले पनि ०७१ सालमै विहे गरेका थिए ।
चक्करै चक्कर
चक्कर चलाउनेमा माहिर मानिने भुवन केसी ०७१ सालमा पनि नायिका जिया केसीकै वरिपरी घुमिरहे । जिया यतिखेर भुवनकै घरको तल्लो फ्ल्याटमा भाडामा बस्छिन् भन्ने खबर छ । जे होस् भुवनका छोरा अनमोल केसी भने यतिखेर आफ्नै हिरोइन अर्थात् ‘जेरी’ की हिरोइन आना शर्मासँग प्रेम सम्बन्धमा परेका छन् । यस्तै २०७१ सालमा रेखा थापा र सुदर्शन गौतमको प्रेम सम्बन्धको चर्चाले पनि शिखर चुम्यो । ‘हिम्मतवाली’ रिलिजताका त रेखा र सुदर्शनको विहेसम्म हुने हल्ला पनि चल्यो । तर ‘हिम्मतवाली’ को रिलिजपछि भने दुवै सेलाए । सुदर्शन क्यानडा फर्किइसकेका छन् । निर्माता छविराज ओझा पनि २०७१ सालमा आफ्नी नयाँ हिरोइन शिल्पा पोखरेलसँगको चक्करमा फसे । शिल्पाले थभक भनेको खण्डमा आफू हाम फालेर जाने कुरा छविले खुलेरै बोले । शिल्पाले पनि पर्खिने भए आफू बिहे गर्न तयार रहेको जनाइन । तर, छवि र शिल्पाको चक्कर पनि ‘लज्जा’ चलाउनका लागि मात्र फण्डा रहेछ भन्ने कुरा पछि आएर खुल्यो । यस्तै कुनै बेला अभिनेता विनय श्रेष्ठसँग चक्करमा परेकी अभिनेत्री ऋचा शर्माको नाम यो वर्ष निर्देशक निश्चल बस्नेतसँग जोडियो । निश्चलले आफ्नो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा नायिकाका रुपमा लिएपछि त ऋचा र निश्चलको चक्करको चर्चा झन् चुलिएको थियो । त्यसो त ऋचाको नाम अर्का नायक गौरव पहारीसँग पनि नजोडिएको भने होइन तर गौरवले ऋचा आफ्नो साथी मात्र भएको बताएर पन्छिए । तर, यस्तै नव नायिका अकेशा विष्ट र नायक सौरमराज तुलाधर बिच पनि चक्कर चलेको कुरा मिडियामा छ्याप्छयाप्ति भयो । तर पछि उनीहरु पनि साथी मात्र भनेर टक्टकिए । यस्तै निर्देशक नारायण पुरी पुत्र संयम पुरी र नायिका तथा भिजे आश्मा डिसी बीचको खिचडी पनि खुबै पाक्यो गएको सालमा । यस्तै निर्देशक सुर्दशन थापा र नायिका पूजा शर्माको चक्करले पनि मिडियामा राम्रै स्थान पायो । सुदर्शनसँग ब्रेकअप भएपछि सुष्माले निरन श्रेष्ठ नामक युवकसँग प्रेम गरिन् । तर यतिखेर यिनीहरु पनि छुटिसकेका छन् । यस्तै कुनै बेला निर्माता उद्धव पौडेलका छोरा निर्देशक निरक पौडेलसँग प्रेमको चक्करमा परेकी नायिका निशा अधिकारी यतिखेर भने क्रिकेटर शरद भेषवाकरसँगको चक्करमा परेकी छिन् । यस्तै निर्देशक शोभित बस्नेत पुत्र शलोन बस्नेत पनि आफ्नै फिल्मकी नायिका करिश्मा श्रेष्ठसँग प्रेम सम्बन्धमा छन् ।
जसलाई गुमायौं
त्यसो त यो वर्ष केही फिल्मकर्मीहरुको निधन भयो । तर अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले भने सबैलाई आश्चर्य चकित र अचम्मित बनायो । विवाह भएको एक महिनामै नायिका श्वेता खड्काले पति वियोग खेप्नुप¥यो । विवाह भएको तीन दिनपछि हनिमुनका लागि भनेर दिल्ली उडेको यो जोडी दिल्ली एयपोर्टमा उत्र्ने बित्तिकै सिधै हस्पिटल पुगेका थिए । जहाँ डाक्टरले हस्पिटलमै बसेर उपचार गर्नुपर्ने देखेपछि श्रीकृष्णलाई गंगाराम हस्पिटलमा एडमिट गराइएको थियो । दिल्लीस्थित गंगाराम हस्पिटलको शैय्याबाट नै श्री र श्वेताले दर्शकको नाममा एउटा अडियो सन्देश जारी गरे । उक्त अडियो सन्देश प्रशारण भएको तीन दिनपछि अभिनेता श्रीकृष्ण श्रेष्ठ सदा¬–सदाका लागि हामीबाट विदा भए । श्रीको शव काठमाडौं ल्याउन नपाउँदै मिडियाहरुमा श्रीको निधनको समाचार यसरी आयो कि श्रीको एक झलक हेर्न दर्शकहरु मानव सागरका रुपमा ओर्लिए । श्रद्धाञ्जलीका लागि प्रज्ञाप्रतिष्ठानमा श्रीको शव एकछिनका लागि राखिने निर्णय भएता पनि थेगिनसक्नुको मानव सागरका कारण श्रीको शवलाई प्रज्ञाप्रतिष्ठानमा राख्न सकिएन । आर्यघाटमा समेत श्रीको शवलाई उर्तान प्रहरीलाई निक्कै ठूलो कसरत गर्नुपरेको थियो । अन्ततः श्रीको शवलाई दुई¬–दुई पटकसम्म राष्ट्रिय झण्डा ओढाएर राष्ट्रले ठूलो इज्जतका साथ श्रीलाई अन्तिम विदाई गरेको थियोे दागबती दिने क्रममा नेपाल प्रहरीको एक टुकरीले श्रीप्रति सम्मानकारक पनि अर्पण गरेको थियो । यस्तो सम्मान पाउने श्रीकृष्ण श्रेष्ठ पहिलो र हालसम्म लागि एकमात्र कलाकार हुन पुगेका छन् । श्रीलाई आज पनि हाम्रो हार्दिक श्रद्धाञ्जली । यस्तै होनहार निर्देशकका रुपमा चिनिएका आलोक नेम्वाङ पनि २०७१ सालमै हामीबाट विदा भए । आलोकले आत्महत्या गरेका थिए । आलोकको आत्महत्याको रहस्य चाँडै खोल्ने जानकारी गराउने उनका भिनाजु कलाकार तथा पाइलट विजय लामाले आजसम्म पनि त्यो रहस्य खोल्न भने सकेका छैनन् । यसर्थ आलोकको आत्महत्याको प्रकरण आज पर्यन्त पनि रहस्यमय नै बन्न पुगेको छ । तथापि नेपाल प्रहरीले भने आलोकको मृत्यु मात्र आत्महत्या भएको जनाइसकेको छ ।
१० हिट गीत छान्न पनि धौ धौ
वर्ष २०७१ सालमा ८३ वटा फिल्म रिलिज भए । एउटा फिल्ममा सरदर ४ वटा गीत मात्र राख्दा पनि लगभग ३ सय ३२ वटा जति गीतहरु हुंन आउँछन् । तर, दुर्भाग्य नै भनौं ३ सय ३२ मध्ये १० वटा गीत पनि हिट हुन सकेनन् गएको वर्ष । गएको वर्ष फिल्म ‘नाई नभन्नू ल २’, ‘नोभेम्वर रेन’ ‘कोहिनूर ‘ठूली’, ‘बिर्खेलाई चिन्छस्’, ‘हिम्मतवाली’, ‘स्टुपिड मन’, ‘लज्जा’ फिल्मका गीतहरु हिट भए ।
जो फर्किए
२०७१ साल केही कलाकर्मीहरुका लागि पुनरागमनको वर्ष पनि बन्यो । अभिनेत्री संचिता लुईटेलसँग दोश्रो बिहे गरी मुम्बई गएका अभिनेता निखिल उप्रेती ०७१ सालमा नेपाल मात्र फर्किएनन्, फिल्मा समेत कम ब्याक भए । निखिल अब नायक मात्र रहेनन्, निर्देशक पनि बनिसकेका छन् । निखिलले निर्देशन गरेको पहिलो फिल्म भैरव यतिखेर राम्रैमा रहेको छ । यस्तै निखिल पत्नी अभिनेत्री संचिता लुईटेल पनि ०७१ सालमै फिल्म ‘नाई नभन्नू ल ३’ मार्फ कम ब्याक भइन् । संचिताले ०७१ सालमै अर्को पनि एउटा फिल्म खतरनाक पनि खेल्न भ्याइन् । यस्तै कुनै बेलाका चकलेटी हिरो रमेश उप्रेती पनि लगभग दश वर्षको अन्तरालपछि फिल्म ‘ब्रासलेट’ मार्फत रजतपटमा पुनरागमन गरेका छन् । उनको फिल्म ‘ब्रासलेट’ को यतिखेर पोखरामा छायाँकन भैरहेको छ । यस्तै कुनै बेलाकी हिट हिरोइन करिश्मा मानन्धर पनि लामो समयको अन्तरालपछि कम ब्याक भएकी छन, तर निर्माताका रुपमा । करिश्माले निर्माण गरेको फिल्म ‘फागु’ यतिखेर पोस्ट प्रोडक्सनको क्रममा रहेको छ । यस्तै लामो सयमको अन्तराल पछि निर्देशक मोहन निरौला ‘जन्मभूमि’ मार्फत् पुनः पर्दामा छाउने भएका छन् । निर्देशक शम्भू प्रधान पनि फिल्म ‘रंग बैजनी’ मार्फत कम ब्याक भएका छन् २०७१ सालमा ।
निर शाह मरेर बाँचे
२०७१ साल अभिनेता तथा निर्देशक निर शाहका लागि भने केही सुखद् र केही दुःखद रह्यो । दुःखद यसअर्थमा कि निर शाहले निर्देशन गरेका फिल्म ‘अकाल’ ले पानी माग्न पाएन भने हृदय घातका कारण हस्पिटलको आइसियुमा समेत बस्नु पर्यो निर शाह । तर, सुखद पक्ष के रह्यो भने उनकै भाषामा भन्नु पर्दा उनी ‘मरेर बाँचे ।’ उनका लागि अर्को सुखद पक्ष के पनि रह्यो भने उनी ७१ सालमै नेपाल टेलिभिजनको अध्यक्ष पनि बने । यतिखेर निर शाहद्वारा निर्देशित ऐतिहासिक फिल्म ‘सेतो बाघ’ चलिरहेको छ । यस्तै खलपात्रका रुपमा परिचित सुनिल थापाका लागि पनि ७१ साल सुखद् वर्षको रुपमा रह्यो । किनकी सुनिलले पनि हिन्दी फिल्म ‘मेरी कोम’ मार्फत कम ब्याक गरे । यस्तै अभिनेत्री गरिमा पन्तले पनि सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’ मार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् । गरिमाका फिल्महरु २०७१ सालमा नचलेपनि यो भने गरिमाका लागि ठूलै उपलब्धि हुन आएको छ ।
सम्भावनाको साल ०७२
समष्टिमा भन्नुपर्दा २०७१ साल नेपाली फिल्मका लागि केही आशा केही निराशाजनक रह्यो । २०७२ साल भने ठूलो सम्भावना बोकेको वर्षका रुपमा स्थापित हुनेछ आशा राखिएको छ । किनकी ०७२ सालमा सम्भावना बोकेका र राम्रै बजार तताउन सक्ने भनिएका फिल्महरु प्रदर्शनमा आउँदैछन् । जस्तो कि ‘रेशम फिलिली’, ‘होस्टेल रिटन्र्स’, ‘अधकट्टी’, ‘भैरव’, ‘वडा नम्वर ६’, ‘राम प्यारी’, ‘लुटेरा’, ‘कवड्डी कवड्डी’, ‘फूलै फूलको मौसम तिमीलाई’ र ‘क्लासिक’ जस्ता फिल्महरुको फिल्मी बजारमा अहिले देखि नै चर्चा हुन थालेको छ । यस्तै ब्लकबस्टर निर्देशक आकाश अधिकारी यो साल दुई वटा फिल्म निर्माण एवं निर्देशनको तयारीमा छन् । जसको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved